नेकपा (एकीकृत समाजवादी)को सातौं बैठक बुधबारबाट सुरू हुँदैछ । तीन दिन चल्ने केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
१३ गतेसम्म चल्ने बैठकमा मूलतः विधानमाथि छलफल केन्द्रित हुने उपाध्यक्ष पाण्डेले बताए।
‘विधानमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएका हौँ। सचिवालयले छलफल गरेको विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्,’ उनले भने।
एकीकृत समाजवादीले जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्दैछ। त्यसका लागि विधानको मस्यौदा बनाएर छलफल चलाइरहेको हो।
एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भूसाल, उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।
७० औं सचिवालय बैठक बसेर विधानमाथि प्रारम्भिक छलफल गरिसकेको छ। अहिले केन्द्रीय कमिटीमा लैजान लागेको प्रस्तावमा पार्टीको कार्यकारिणी कमिटीमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छैन। निर्वाचन आयोगमा बुझाएको विधानमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकामा त्यो हटाइएको छ।
‘केन्द्रीय सदस्यहरू कार्यकर्ताप्रति जवाफदेही होस्, आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्ता घुलमिल पनि हुन्, बिहान अध्यक्षकहाँ, दिउँसो सम्मानित नेताका दैलोमा पुगेर नेता बन्ने परम्परा अन्त्य होस् भनेर हामीले सबै आ–आफ्नो ठाउँबाट चुनिएर आउनुपर्ने प्रस्ताव लैजान लागेका छौं। पार्टी निर्माणको चरणमा छौं। यसले उत्साहको सञ्चार पनि गर्नेछ,’ उनले भने।
उनले केन्द्रीय कमिटी पूर्ण समावेशी चरित्रको हुने, युवा, महिला, दलित, अल्पसंख्यकको प्रतिनिधित्व रहने प्रस्ताव गरिएको बताए।
‘यसअघि हामीले उमेर समूह छुट्टयाएर प्रतिनिधित्व गराउनेबारे पनि छलफल गरेका थियौँ। आज लैजाने प्रस्तावमा त्यो छैन। तर, त्यसबारे पनि छलफल हुन्छ,’ उनले भने।
केन्द्रीय कमिटी बैठकपछि माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद् बैठकमा पनि विधानबारे छलफल हुने उनले बताए।