राष्ट्रिय अपांग महासंघका पदाधिकारी चार दिनदेखि आन्दोलित छन्।
महासंघका अध्यक्ष देविदत्त आचार्यले संस्थाको विधानविपरीत काम गरेको भन्दै उपाध्यक्ष अनिता घिमिरे, कोसी प्रदेश अध्यक्ष नविनचन्द्र ढुंगेल, मधेस प्रदेश किरण पासवान, बागमती प्रदेश अध्यक्ष अस्विन लम्साल र सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउदसहितका सदस्यहरू आन्दोलित भएका हुन्।
महासंघको रातोपुलस्थित कार्यालयमा तालबन्दी गरेर उनीहरू आइतबारदेखि लगातार धर्नामा बसिरहेका छन्।
उनीहरूले अध्यक्ष आचार्यको कार्यशैली र उनीविरूद्ध लागेको आरोपबारे पटकपटक जवाफ माग्दा नदिएकाले धर्नामा बस्नुपरेको बताएका छन्।
उपाध्यक्ष घिमिरेका अनुसार अध्यक्ष आचार्यले महासंघको बजेट हिनामिना गरेको, बिनाकारण कर्मचारी निष्कासन गरेको, कार्यसमितिमा आफू अनुकूल मान्छेहरूलाई नियुक्ति दिएको आरोप छ। यतिमात्र होइन उनीमाथि यौन दुर्व्यवहार गरेको समेत आरोप लागेपछि त्यसबारे पटकपटक जवाफ माग्दा नपाएको उपाध्यक्ष घिमिरेले बताइन्।
‘हामीले संस्थाको छवि नबिग्रियोस भनेर पटक/पटक आन्तरिक रूपमा मिलाउन खोज्यौं। पटकपटक लिखित र मौखिक सुझाव पनि दिँदै आएका थियौं,’ उनले भनिन्।
तर सीमा नै नाघेपछि आफूहरूको धैर्यताको बाँध फुटेकोले अध्यक्षविरूद्ध आन्दोलन नै गर्नुपरेको उनले बताइन्।
अध्यक्ष आचार्यले निर्वाचित भएदेखि नै संस्था र अपांगता भएका व्यक्तिहरूको हितमा काम नगरेको आरोप छ।
आचार्य १४ महिनाअघि अध्यक्ष बनेको हुन्। अध्यक्षको निर्वाचनमा पनि फर्जी मत हालेर निर्वाचित भएको उनीमाथि आरोप छ।
यसबारे निर्वाचन समितिसमक्ष उजुरी समेत परेको घिमिरेले बताइन्। तर त्यसबारे पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।
आन्दोलित पदाधिकारीले २०७९ साल पुस ७ गते बसेको बैठकको अन्तिम समयमा कार्यसम्पादन समितिको ५ जनाको नाम जबरजस्ती घोषणा गरी अनुमोदन गरेको आरोप पनि अध्यक्ष आचार्यमाथि लगाएका छन्।
त्यतिबेला सातै प्रदेशका अध्यक्षले लिखित असहमति दर्ता गर्दा पनि त्यसको बेवास्ता गरिकएको उनीहरूको भनाइ छ।
महासंघको आन्तरिक नीति नियममा कार्यसमितिका सबै जनाको हस्ताक्षर आवश्यक मानिन्छ। तर त्यसमा अध्यक्ष र महासचिवको मात्र हुने बनाएको उनीहरूको आरोप छ।
अध्यक्ष आचार्यले महासंघमा कार्यरत कर्मचारी ४ जनालाई झुट्टा आरोप लगाएर बहानामा संस्थाबाट निकालेको आरोप लगाएका छन्। जबरजस्ती निकालिएका कर्मचारीले श्रम अदालतमा मुद्दा हालेका छन्।
श्रम अदालतले पनि अध्यक्ष आचार्यविरूद्ध उजुरी परेको पुष्टि गरेको छ। 'उहाँविरूद्ध उजुरी परेको रहेछ, त्यसमा काम हुँदैछ,' श्रम अदालत स्रोतले भन्यो।
त्यस्तै २०७९ कात्तिक १३ र १४ गते नेपालगञ्जमा भएको महासंघको साधारण सभाका खर्च अपारदर्शी भएको उनीहरूको आरोप लगाउँछन्।
‘त्यतिबेला यातायात खर्चसहित २५ देखि ३० लाख रूपैयाँ खर्च भएकोमा अध्यक्ष आचार्यले ५० लाख खर्च देखाएको उनीहरूको आरोप छ।
'के-के शिर्षकमा खर्च भयो भन्ने स्पष्ट प्रतिवेदन बुझाउनु भएन,' उपाध्यक्ष घिमिरेले भनिन्, 'अपांगता भएका व्यक्तिका हक हितका लागि आएका पैसा त्यसरी खान पाइँदैन। त्यसैले अख्तियार दुरूपयोग अनुसन्धान आयोग छानबिन हुनुपर्ने माग छ।'
यीसहित विभिन्न आरोप लगाउँदै महासंघका पदाधिकारी आन्दोलित भएका हुन्।
अध्यक्ष आचार्यले भने भने आफूले विधान अनुसार नै काम गर्दा पनि घटना र मुद्दालाई राजनीतिकरण गर्न खोजिएको बताए।
'पदाधिकारीले सामान्य घटनालाई पनि राजनीतिकरण गर्न खोजिएको हो,' अध्यक्ष आचार्यले भने, 'सदस्य र पदाधिकारीसँग छलफल चलिरहेको छ।'