गत शुक्रबार बेलुकी बैंक खातामा ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज आएपछि धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादव एकछिन अलमलिए। सबैतिर सोधखोज गर्दा कुनै आफन्तले पैसा जम्मा नगरेको जवाफ सुन्दा उनी सोचमग्न भए।
उनको मनमा अनेकथरी कुरा खेल्न थाल्यो। केही बेरपछि उनले सबैला बजारस्थित रहेको सिटिजन बैंकका कर्मचारीलाई फोन गर्दै कसले मेरो खातामा जम्मा गरेको भनेर सोधे। ती कर्मचारी पनि बाहिर रहेछन्। सबैला बाहिर भएकाले बैंक पुगेर मात्रै विस्तृत बताउन सक्ने जवाफ दिए। आइतबार बिहान मेयर यादव आफैं बैंक पुगेर शाखा प्रबन्धक जनक कार्कीसँग यसबारे जवाफ मागे।
त्यसपछि बल्ल भेद खुल्यो।
सबैला नगरपालिका—१२ मा रहेको फकिरचन्द गामी माध्यमिक विद्यालय, बरकुर्वाका लेखापाल देवकुमार यादवले उक्त पैसा नगरप्रमुखको खातामा हालिदिएका रहेछन्।
पैसा जम्मा गर्दा भौचरमा उनले विद्यालयका प्रधानाध्यापक बैजु साहको मोबाइल नम्बर राखेका थिए ।
आफूलाई बदनाम गर्ने नियतले बैंकका कर्मचारीले लेखापाललाई खाता नम्बर दिएको र पैसा जम्मा गरेको भन्दै दुवैविरुद्ध मेयर यादवले इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिए।
‘मैले समयमै म्यासेज देख्न भ्याएछु। मलाई बदनाम गर्ने फसाउने नियतले हेडसरको निर्देशनमा विद्यालयका लेखापालले बैंकका कर्मचारीसँग मेरो खाता नम्बर मागेछन् र पैसा हालदिएछन्,’ मेयर यादवले भने, ‘मैले लेखापालसँग सोध्दा उनले शिक्षकको तलब निकासा गर्न मेयरले आफ्नो खातामा ५० हजार हालदिन भनेको सुनाएछन्। जबकी हेडसरसँग मेरो केही कुरै भएको छैन। मलाई बदनाम गर्ने फसाउने नियतले यो सबै गरेका रहेछन्। दोषीलाई कारबाही गर्न उजुरी दिएको हुँ।’
नगरपालिका र विद्यालयबीच लामो समयदेखि विवाद चल्दै आएको छ। विवादका कारण फकिरचन्द गामी मावि बरकुर्वाका शिक्षकले विगत ६ महिनादेखि तलब पाएका छैनन्।
‘विद्यालयमा धेरै भ्रष्टाचार भएको कुरा आएको छ। हेडसरले हरहिसाब दिँदैनन्। अख्तियारले पनि पत्र पठाएको पठायै छ उनले जवाफै दिँदैनन्। अख्तियारले नगरपलिकाको शिक्षा शाखालाई पत्र लेखेर जवफ नदिए तिमीहरूलाई पनि कारबाही हुन्छ भन्छ,’ मेयर यादवले थपे, ‘पत्रको जवाफ नदिएकै कारण हामीले शिक्षकको तलब रोकेका हौं। हामीसँग हेडसर सम्पर्कमै आउन चाहँदैनन्। हामी पीडित भएर उनीहरूको तलब रोक्नुपरेको छ।’
यसबारे बुझ्न प्रधानाध्यापक र लेखापाल यादवसँग बुझ्न खोज्दा उनीहरू हाम्रो सम्पर्कमा पनि आउन चाहेनन् ।
सबैलास्थित सिटिजन बैंकका शाखा प्रबन्धक कार्कीले कर्मचारीले व्यवहारिक रूपमा खाता नम्बर प्रधानाध्यापक साह र लेखापाल यादवलाई उपलब्ध गराएको स्वीकार गरे ।
‘गाउँघर हो। फलानोको किस्ता तिर्नु छ, फलानोको पैसा तिर्नु छ भनेपछि हामी व्यवहारिक रूपमा खाता नम्बर उपलब्ध गराइदिन्छौं,’ शाखा प्रमुख कार्कीले भने शुक्रबार पिन्सिपल सर र लेखापाल सर आउनु भएको थियो। चिनजानकै भएर उहाँहरूले मेयर साहेबको खाता नम्बर दिनुस् न भन्नुभयो। खाता नम्बर यहीँबाट पानुभयो। ५० हजार खातामा राखेर जानु भयो। हामीले नियतवश दिएका होइनौं।’
नगर प्रमुख यादवले यसबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै उजुरी दिएपछि इलाका प्रहरी कार्यालय सबैलाले बुधबार लेखापाल यादवलाई बोलाएर सोधपुछ गरेको थियो। अनुसन्धान जारी रहेकाले यसबारे अहिले केही भन्न नमिल्ने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुन्दर चौलागाईंले बताए।
‘कुन नियतले किन पैसा राख्यो हामीले अनुसन्धान गरिरहेकै छौं। आज बैंकका कर्मचारीलाई पनि सोधपुछका लागि बोलाएका छौं। सबै पक्षसँग सोधपुछ गरेपछि मात्रै वास्तविकता खुल्छ,’ उनले भने ।