प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्धन गर्न विजनेस इन्कवेसन सेन्टरको माध्यमबाट सातै प्रदेशकेन्द्रित व्यवसाय प्रवर्द्धन अभियान सञ्चालन गर्न पनि प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन दिएका छन्।
‘स्टार्टअप फन्डसमेत परिचालन गरी बर्सेनि कम्तीमा २० हजार युवाहरूको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले कुटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्द्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवर्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको बताउँदै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताएका थिए।