संसदीय समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजातहरू तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त गरेको थियो।
बिहीबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको १५ औं बैठकले उनको नियुक्तिको कागजात तीन दिनभित्र पेश गर्न निर्देशन दिएको हो।
‘आजको बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाहीहरु तथा समसामयिक विषयहरुका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव तथा कोषाध्यक्षसँग छलफल भयो,’ समितिका सभापति राजकिशोर यादवले भने, ‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धि प्रमाण कागजातहरू ( निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत) ३ (तीन) दिन भित्र यस समितिमा उपलब्ध गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने निर्णय गरेका छौं।’
त्यस्तै पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइएको उनले बताए।
समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकिन र हालसाविक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न निर्देशन दिएको यादवको भनाइ छ।
पशुपति क्षेत्र विकास कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरण सहितको विस्तृत जानकारी तीन दिनभित्र गराउन कोषलाई निर्देशन दिएको छ।
पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको उनले बताए।
समितिले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको उपयुक्त समयमा स्थलगत अनुगमन गर्ने पनि समितिका सभापति यादवले बताए।
