प्रतिनिधि सभाकाे कृषि, सहकारी तथा प्राकृतिक स्राेत समिति सभापति आरजु राणा देउवाले अस्वस्थकर खाद्यान्नकाे आयातमा कडाइ गर्नुपर्ने बताएकी छन्।
केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा शुक्रबार समितिमा भएको उनले सीमा नाकामै विषाक्त खाद्यान्न रोक्नुपर्ने बताइन्।
उनले भारतीय केरामा टिआरफोर नामक रोग देखिएको र त्यसले नेपालका केरा खेतीमा पनि समस्या ल्याइरहेको गुनासो आएको बताइन्।
सीमाबाट आयात हुने विषाक्त र अस्वस्थकर खाद्यान्न नियन्त्रणका लागि कृषि, अर्थ, गृह र वाणिज्य मन्त्रालयकाे टास्क फाेर्स बनाउनुपर्ने उनको भनाइ छ।
नेपालकाे कृषि वैज्ञानिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने उनकाे भनाइ छ।
‘विषाक्त केरा र माछा आउँदा राेग भित्रिरहेकाे छ, नेपाली किसान मारमा परिरहेका छन्,´ उनले भनिन्, `सीमा नाका र भन्सारमा अर्थ, गृह र वाणिज्य मन्त्रालयले कडाइ गर्नुपर्छ।´
सभापति राणाले सीमामा खटिने सुरक्षाकर्मीदेखि कर्मचारीलाई खाद्य सुरक्षाबारे तालीम दिनुपर्ने बताइन्। यसका लागि उनले कृषि मन्त्रालयलाई आग्रह गरिन्। उनले कृषिमा लगानी बढाउनुपर्ने बताइन्।
`कृषि प्रधान देशमा राज्यकाे ३ प्रतिशत मात्रै बजेट छ। यसलाई बढाएर कम्तिमा ५ प्रतिशत पुर्याउनुपर्छ। किनभने कृषि सेक्टरबाट धेरै राजस्व उठ्छ। यसमा खर्च भन्दा लगानीका रूपमा हेर्नुपर्छ,´ उनले भनिन्।