संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हितविपरीत भएको बताएका छन्।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री किरातीले उक्त कुरा बताएका हुन्।
'अबको ८/१० वर्षमा काठमाडौंको एयरपोर्टमा धेरै नै असहज हुनेछ,' मन्त्री किरातीले भने, 'अहिले पनि आकाशमा ४५ मिनेट जहाज होल्ड गरेर राख्नुपर्ने बाध्यता छ।'
उनका अनुसार जतिसुकै काठमाडौंको विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन सक्दैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नै निजगढ विमानस्थल हो।
'काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै हो,' मन्त्री किरातीले भने।
मन्त्री किरातीका अनुसार निजगढ विमानस्थल बनाउन नदिन बाधा अवरोध पुर्याउनु राष्ट्र हितविपरीत हो।
‘निजगढ विमानस्थल अहिले नबनाएर १० वर्षपछि देशलाई हुने धोका जसले अहिले विरोध गर्छ त्यसले लिनुपर्छ,' मन्त्री किरातीले भने, 'आज निजगढ बनाउनुपर्छ भन्दा जसले बाधा अवरोध गर्छ। त्यो राष्ट्र हितमा हुँदैन।'
नेपाल वायुसेवा निगमसँग किन झगडा बढी हुन्छ भन्ने प्रश्नमा किरातीले जोसँग जीवन बिताउनुपर्छ त्योसँग बढी झगडा हुने बताए। काम गर्ने क्रममा झगडा नभई सल्लाह गरिएको बुझ्न समेत उनले आग्रह गरे।
मन्त्री किरातीले दुर्गम क्षेत्रका २२ वटा एयरपोर्ट गौचरनमा परिवर्तन भएको बताए। त्यस्तै, बनेका अन्तराष्ट्रिय एयरपोर्ट घाम तापेर बसिरहेको उनको टिप्पणी छ।