सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई जनाको मृत्यु हुनेगरी शुक्रबार बालकुमारीमा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्।
मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा मन्त्री शर्माले घटनाप्रति सरकार गम्भीर रहेको र त्यसमा दोषी रहेकालाई कारबाही गरिने बताएकी हुन्।
त्यसका लागि गृह मन्त्रालयले छानबिन समिति बनाइसकेको र त्यसले निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कारबाही हुने उनले बताइन्।
मन्त्री शर्माले प्रदर्शनकारीहरूले मन्त्रीकै गाडी टार्गेट गरेको भन्दापनि स्वतस्फुर्त आकर्षित भएको बताइन्।
कोरियन भाषा परीक्षाबारे दिउँसो तीन बजे आदेश आउनेबारेमा पनि प्रचार गर्न र बुझाउन चुकेको मन्त्री शर्माले बताइन्।
बैठकमा आन्दोलनको बेला सुरक्षा, परिचालन लगायत सबै कुरामा संयमता अपनाउन पर्छ भन्ने कुरामा गम्भीर ढंगले छलफल पनि गरिएको उनले बताइन्।
‘त्यसमा कमजोरी भएका छन् भनेरै गोली चलाउन आदेश दिने डिएसपी र मन्त्रीका पिएसओ उपसचिव र कर्मचारी निलम्वित भएका छन् ,’ उनले भनिन्।
छानबिन समितिको प्रतिवेदनपछि दोषीलाई कारबाही र कमजोरीहरूको सुधार गरिने उनले बताइन्।
बालकुमारी घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।
उनीहरूका परिवारलाई १०/१० लाख रूपैयाँ दिने र घाइतेहरूको उपचार सरकारले गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।