प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो।
यो घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डले गृहलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न लागिएको हो। यससम्बन्धी सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्ने र सोमबारदेखि नै काम सुरू गर्ने पनि उनले बताए।
बालकुमारीमा भएको घटनासम्बन्धी छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु रिग्देल सदस्य छन्।
बालकुमारीमा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो। रावतको छातीमा डाम देखिएको थियो भने साहको गोली लागेर मृत्यु भएको थियो। मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने पनि निर्णय गरेको छ।
प्रदर्शनको क्रममा गोली चलाउन निर्देशन दिएको भन्दै गृह मन्त्रालयले फिल्ड कमान्डर रहेका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ।
प्रदर्शनकारीले त्यसदिन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा पनि आगजनी गरेको थियो। उनका पिएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय नक्साल र ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृहमा तानिएको थियो।