सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सोमबार सकिँदैछ।
जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले सुरू गरेको अभियान मूलभूत रूपमा सफल भएको निचोड निकालेको र आज समापन गर्न लागिएको महासचिव देव गुरूङले जानकारी दिए।
‘सोमबार आ–आफ्नो ठाउँमा भोला, बैठक राख्ने र समीक्षासहित अभियानको समापन हुँदैछ। अभियान मूलभूत रूपमा सफल भएको निष्कर्षमा पुगेका छौं। विस्तृत रिपोर्ट त आउन समय लाग्छ,’ उनले भने।
माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको थियो। अभियानप्रति जनताको साथ–समर्थन रहेको निष्कर्ष निकाल्दै थप एक महिना लम्ब्याइएको थियो।
साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले सबै तहमा पार्टी समितिको बैठक र प्रशिक्षण आयोजना गर्ने, समिति नभएका वडामा समिति गठन गर्ने, पार्टीलाई वैचारिक बहससहित वर्तमानका चुनौती सामना गर्न योग्य बनाउने उद्देश्यसहित अभियान सुरू गरेको थियो।
अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए।
यो पनि-
जनता भेट्न हिँडेका माओवादी फर्किए कार्यकर्ता मात्रै भेटेर!