राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्र परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग रहेको बताएका छन्।
खेलकुदले युवा तथा विद्यार्थीलाई नेतृत्व विकास गराएर जटिल परिस्थितिमा पनि सहजताका साथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने उनले बताए।
काठमाडौंको दशरथ रंगशालामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार उद्घाटन गर्दै उनले भने, ‘यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो। खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजतासाथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ, जुन हाम्रो राष्ट्रको लागि आजको आवश्यकता हो।’
उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए।
कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने उनले बताए।
‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्,’ उनले भने।
राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए।
खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने उनको भनाइ छ।
‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ। यो उनीहरूलाई ऊर्जा, सजीवता र सामर्थ्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो,’ उनले भने।