प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरूरी रहेको बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘समाजका लागि ठूलो मान्छे होइन, असल मान्छे चाहिन्छ। तपाईंहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवनउपयोगी र अनुपम हुनुपर्दछ।’
‘विद्यमान अवस्थामा ठूलो पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा रहेको उनले बताए।
‘विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो,’ उनले भने, ‘यसले समान्य रुपमा गतिलिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समयसीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनूभूति गरेका छौं।’
विकास र इन्जिनियर एक आपसका परिपूरक भएको उनले बताए।
देश विकासको गतिलाई द्रूत रूपमा अगाडि बढाउन इन्जिनियर समुदायको भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउने उनले बताए।