प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयको आकार घटाउने भएका छन्।
अहिले प्रधानमन्त्रीको निजी सचिवालय ४१ सदस्यीय छ।
प्रधानमन्त्री प्रचण्डले निजी सचिवालयमा आवश्यक पर्ने जनशक्ति मात्रै राखेर बाँकी हटाउने मनस्थितिमा पुगेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री कार्यालयलाई चुस्त दुरूस्त बनाउने भनेर नै ६८ जनाको दरबन्दी घटाउने निर्णय भइसकेको छ,’ आचार्यले सेतोपाटीसँग भने,‘सचिवालयलाई पनि सानो र छरितो आकारको बनाउने तयारीमा हुनुहुन्छ। सचिवालयको छिट्टै पुनर्संरचना हुँदैछ।’
निजी सचिवालय पुनर्गंठन हुँदा प्रधानमन्त्रीको छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाल भने नहट्ने आचार्यले बताए।
उनले ६ वर्षयता गंगा प्रचण्डको साथमै रहेको र कतिपय संस्थागत स्मरणका लागि पनि प्रधानमन्त्री कार्यालयमा गंगाको आवश्यक पर्ने बताए।
‘गंगाजीले प्रधानमन्त्रीज्यूलाई मसिनोगरि सहयोग गर्दै आउनुभएको छ,’ आचार्यले भने, ‘प्रधानमन्त्रीको स्प्रिटअनुसार काम गर्न उहाँको आवश्यकता पर्छ, अहिले गंगा दाहाललाई प्रधानमन्त्रीको सचिवालयबाट फिर्ता बोलाउनु भनेको उहाँलाई सफल हुन नदिने प्रपञ्च हो।’
प्रधानमन्त्रीले छोरीलाई स्वकीय सचिव बनाएकोमा पार्टीभित्रबाट समेत विरोध हुँदै आएको थियो। कतिपयले उनलाई फिर्ता गर्नुपर्ने माग गर्दै आएका थिए।