सिनामंगलस्थित केएमसी अस्पताल र आवासीय चिकित्सक विशद दाहालसहितको टोलीबीच वार्ता सुरू भएको छ।
बिहीबार आवासीय चिकित्सकले सडकमै बसेर धर्ना दिएपछि अस्पताल प्रशासनले वार्ताका लागि बोलाएको हो।
डाक्टर दाहालले भने, 'आज पनि हामी अस्पताल छिर्न खोज्दा सुरक्षा गार्डले धकेलेर सडकमा पुर्याइदिनु भयो। कति साथीहरू लड्नु पनि भयो। त्यसपछि हामीले सडकमै धर्ना दियौं। पछि प्रहरीको टोली आएपछि वार्ताको वातावरण बनेको होला।'
सडकमै धर्ना बसेपछि गौशला प्रहरी वृत्तबाट डिएसपी केशव थेबेको नेतृत्वमा टोली आएको र प्रहरीसँग पनि आफूहरूले सबै कुरा बताएपछि डिएसपी थेबेले नै अस्पतालसँग वार्ताका लागि समन्वय गरिदिएको दाहालले जनाए।
उनले अहिले आवासीय चिकित्सक टोलीबाट चार जना र अस्पताल प्रशासनबाट केपी शर्मासहितको टोलीबीच वार्ता भइरहेको बताए।
'आधा घण्टा भयो वार्ता सुरू भएको। हाम्रो तर्फबाट चार जनाको टोली जानुभएको छ। म चाहिँ अस्पताल बाहिरै बसेको छु,' उनले भने।
केएमसी अस्पतालले दाहाललाई नियमविपरीत निलम्बन गरेपछि आठ दिनदेखि दाहालसहितको आवासीय चिकित्सक टोली आन्दोलनरत छन्।
काठमाडौं विश्वविद्यालयले समेत निलम्बन फिर्ता गर्न निर्देशन दिए पनि अस्पताल त्यसको लागि तयार छैन। उल्टै अस्पतालका सञ्चालक समेत रहेका कांग्रेस सांसद सुनिल शर्माले दाहाललाई काठमाडौं विश्वविद्यालयमै फिर्ता पठाइदिने अभिव्यक्ति दिएका छन्।