नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अपराह्न १२ः४५ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार आज बस्ने सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने छ।
‘राष्ट्रिय सभा सदस्य उम्मेदवार, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका गतिविधिहरूबारे छलफल हुनेछ,’ गौतमले सेतोपाटीसँग भने।
माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दिनुपर्ने छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले कमिटीहरूलाई उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको थियो। प्रदेश कमिटीले मातहतका जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस गर्न भनेको थियो।
यसरी तहगत कमिटीबाट सिफारिस भएका आएका नाममध्येबाट उम्मेदवारको टुंगो लगाउने गौतमले जानकारी दिए।
यद्यपि एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभामा मिलेर उम्मेदवारी दिन प्रस्ताव गरेको छ।
फागुन २० पछि रिक्त हुन लागेको २० सिटमा एमालेलाई शून्य नपार्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भनेर प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठकमा भनेका थिए।
तर, प्रचार विभाग प्रमुख गौतम भने गठबन्धनसँग नभई माओवादी केन्द्रसँग सहकार्यको प्रस्ताव गरिएको बताउँछन्।
‘हामी यो गठबन्धन भत्काउन चाहन्छौं। त्यसका लागि सहकार्य गरौँ भनेर माओवादीसँग प्रस्ताव गरेका हौँ। सत्ता गठबन्धनसँग हामीले भाग खोजेका होइनौं,’ गौतमले भने।
उनले अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धन भत्काउने ध्येयले नै सहकार्यको प्रस्ताव गरेको र सौदावाजीको रूपमा नअर्थ्याउन भने।
माओवादी केन्द्रका महासचिव देव गुरूङले एमालेले गरेको सहकार्यको प्रस्तावप्रति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बताए।
‘प्रतिपक्षी सहकार्यको हात बढाउँछ भने हामीले मिल्दैनौं भन्ने कुरा आउँदैन। त्यसका लागि वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले त्यही प्रयास गर्नुभएको।’
यद्यपि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको छलफलबाट सत्ता गठबन्धन संसय पैदा भइसकेको छ। असन्तुष्टिको स्वर पनि सुनिन थालेको छ।
बिहीबार बिहान सत्ता गठबन्धनको बैठकमा एमालेसँगको सहकार्यबारे कुरा राख्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमति जनाएका थिए।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच छलफल भएको थियो।
त्यहाँ अध्यक्ष ओलीले ६ सिट मागेको अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ३ सिटका लागि आफूले गठबन्धन दलहरूलाई सहमत गराउन सक्ने बताएका थिए।
‘केपीजीले सुरूमा एमालेबाट ९ जनाको पदावधि सकिन लागेकाले ९ जना नै एमालेले पाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो, मैले ३ जनासम्म सकिन्छ भनेपछि उहाँले ६ सिटको दाबी गर्नुभयो,’ बिहीबार बिहान बसेको गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङमा उद्धृत गर्दै स्रोतले भन्यो।
प्रचण्डले बुधबार साँझको बैठकबारे बताउने बित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसको विरोध गरेको स्रोतको दाबी छ।
एमालेले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई देखाएर राष्ट्रिय सभामा मोलमोलाइ गरेको सत्ता गठबन्धन घटक दलको बुझाइ छ।
‘संक्रमणकालीन न्यायलाई देखाउने र जहाँ पनि आफ्नो हिस्सा खोज्ने ढंगबाट एमाले अघि बढिरहेको छ,’ सत्ता गठबन्धन घटक दलका एक नेताले भने, ‘एमालेको पछिल्लो गतिविधिले उसको प्रतिपक्षी दलको भूमिका कमजोर बनाइरहेको छ।’