उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अगाडि बढाउनुपर्ने बताएका छन्।
शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भइ विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताए।
नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ सङ्कल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह गरेका थिए।
राजनीतिक आस्था फरक-फरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने उनले बताए।
प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उनले उल्लेख गरेका थिए।
‘जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्। यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ,’ उनले भने।
दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उनले सुझाव दिए।
रङ्गशाला निर्माणका लागि धन्यवाद दिँदै उनले खेलकुदसम्बनधी संरचना निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागी छन्।