नेकपा (एमाले) ले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो।
तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
न्यौपाने कोशी, पाण्डे बागमती, भण्डारी सुदूरपश्चिम, शाह कर्णाली र यादव मधेस प्रदेशका पूर्वअध्यक्ष हुन्। कार्की भने झापा अध्यक्ष हुन्।
साथै एमालेले शुक्रबार सर्लाहीमा भएको घटनामा एक जनाको मृत्यु भएकोमा दु:ख व्यक्त गरेको छ।
बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।
शान्ति सुरक्षाको जिम्मा पाएको सत्तापक्ष आफैं हुलदंगा गर्ने काममा लागेको एमालेको आरोप छ। ‘सरकारले जनताको जीउधनको सुरक्षा गर्न सकेन, घटनाप्रति दु:ख व्यक्त गर्छौं,’ उनले भने।