नेकपा (एमाले) ले राष्ट्रिय सभामा उम्मेदवारी टुंग्याउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
शुक्रबार ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा चार घन्टा चलेको सचिवालय बैठकमा सातै प्रदेशबाट आएका नामहरूको बारेमा प्रारम्भिक छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनले पार्टीले १९ वटै सिटमा उम्मेदवारी दिने र क्लस्टर मिलाउन बाँकी रहेको बताए।
‘हामीले सातवटै प्रदेशका तर्फबाट त्यो प्रदेशका रिक्त रहेका पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरेका थियौं। खास गरी आन्दोलनमा योगदान गरेका र सबै पक्षको विश्वास जित्न सक्नेलाई सिफारिस गर्न भनेका थियौं। प्रदेशबाट नाम सिफारिस गर्नुभएको छ। क्लस्टरअनुसार नामका बारेमा छलफल गरेका छौं, कतिपय क्लस्टर प्रमाणीकरण गर्नुपर्ने भएको छ। सिफारिस भएर आएका नामहरू क्लस्टरमा पर्ने/नपर्ने स्पष्ट भएर पुस २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ताको तयारी गरेका छौं,’ महासचिव पोखरेलले भने।
बैठकले क्लस्टरअनुसार नामावलीको अन्तिम टुंगो लगाउने कामको जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको सचिव पद्मा अर्यालले बताइन्।
‘तलबाट सिफारिस भएर आएका नामहरूका बारेमा छलफल गरेका छौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘उम्मेदवारी टुंग्याउने जिम्मा अध्यक्षज्यूलाई दिएका छौं।’
अध्यक्ष ओलीले यसबीचमा सत्ता पक्षसँग गरेको कुराकानीको प्रसंग पनि निकालेको एक सचिवालय सदस्यले बताए।
‘टिआरसी विधेयक देखाएर प्रमुख प्रतिपक्षीले भाग खोजिरहेको छ भनेर सत्तापक्षले अफवाह फैलाइरहेको छ। त्यसबारे कुरा भएको छैन,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै ती सदस्यले भने।
सचिवालयको बैठकमा अध्यक्ष ओलीले पार्टी शुद्धीकरणको प्रसंग पनि निकालेका थिए। एमालेका नेता–कार्यकर्ता, पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिको आरचण–व्यवहारमा प्रश्न उठ्न थालेको, मुद्दा-मामिलामा पर्न थालेको भन्दै व्यापक शुद्धीकरणको खाँचो औंल्याएका थिए।
उनले २०८१ साल पार्टी शुद्धीकरण र रूपान्तरणको वर्षसमेत रहेको बताएका थिए।