नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतर समूहले मागेजति सिट दिन अस्वीकार गरेपछि पार्टीको राष्ट्रिय सभा उम्मेदवार चयन पेचिलो बन्दै गएको छ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभाका १९ मध्ये दस सिट नेपाली कांग्रेसले पाएको छ। सभापति देउवा अर्को समूहलाई दसमध्ये तीन सिट मात्रै दिन तयार भएका छन्। तर शेखर कोइराला समूहले चार सिट आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ।
आइतबार दिउँसोदेखि निरन्तर भइरहेको छलफलमा देउवा टसमस नभएपछि असन्तुष्ट बनेका नेता कोइराला पार्टी कार्यालय सानेपामा चलिरहेको संसदीय बोर्डको बैठक छाडेर हिँडेका छन्।
संसदीय बोर्डका सदस्य नरहे पनि कोइरालालाई देउवाले बोलाएर छलफल गरेका थिए। बैठकबाट निस्किएपछि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफू बोर्डको सदस्य नरहेको र केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेकाले निस्किएको प्रतिक्रिया दिए।
तर कोइरालानिकट एक नेताले सेतोपाटीलाई बताएअनुसार‚ कोइराला 'चार सिट नदिने भए सबै तपाईं नै राख्नुस्' भनेर निस्किएका थिए। उनले आफ्नो समूहलाई चार सिट दिने भए मात्र बैठकमा फर्किने बताएका छन्।
कोइराला बैठकस्थलबाट निस्किएपछि सहमहान्त्री महालक्ष्मी उपाध्याय 'डिना' ले उनलाई फोन गरेकी थिइन्।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १० सिटमा उम्मेदवारी दिँदै छ। यसमध्ये कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलाको मात्रै उम्मेदवारी टुंगो लागेको छ।
कोइराला बैठकस्थलबाट निस्किएपछि सानेपामा अहिले दुवै पक्षधर नेताहरूको छुट्टाछुट्टै छलफल चलिरहेको छ।
कोइराला पक्षधर उपसभापति धनराज गुरूङ‚ महामन्त्री गगन थापा‚ जीवन परियार र बद्रि पाण्डे तथा नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी छलफलमा छन्। देउवाले पनि आफू पक्षधर नेताहरूसँग अलग्गै छलफल गरिरहेका छन्।