नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार छान्न सकेको छैन।
सत्ता गठबन्धनसँग तालमेल गरेर साझा उम्मेदवार तय गर्ने निर्णयमा पुगेको कांग्रेसले १० सिटका लागि पार्टीबाट उम्मेदवार चयन गर्नुपर्ने छ।
तर आइतबार मध्यरातसम्म कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई टिकट दिनेबाहेक अरू सिटमा उम्मेदवार तय गर्न सकेको छैन।
कांग्रेसले अपराह्न ४ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक राखे पनि मध्यरातसम्म उक्त बैठक बस्न सकेको छैन। नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवा नै बैठक कक्षमा उपस्थित नभएको बताए।
'अपराह्न ४ बजेका लागि कार्यसम्पादन समिति बैठक डाकिएको थियो तर मध्यरात भइसक्यो बैठक नै सुरू हुन सकेन,' केसीले भने, 'सभापतिले गठबन्धन बैठकमा गएर १० सिट कांग्रेसलाई ल्याउनुभएको सुन्नमा आएको छ, उहाँले औपचारिक रूपमा यो कुरा पार्टीमा जानकारी पनि गराउनुभएको छैन।'
संस्थापनइतर पक्षले १० मध्ये कम्तीमा चार सिट आफूहरूले पाउनुपर्ने अडान राखेको छ।
नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, नेता केसी र बलबहादुर केसीलगायत पूर्वपदाधिकारी कक्षमा बसेका थिए।
साथै सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश लेखकलगायत सभापति देउवाको कोठामा आन्तरिक छलफलमा जुटेका थिए।
यसअघि सभापति देउवाले सानेपामै संसदीय बोर्ड बैठक राखेका थिए। उक्त बैठकमा सभापति देउवाले महामन्त्री गगन थापालाई दुई जनाको नाम मागेका थिए। जवाफमा थापाले सभापति देउवासँग बाँकी आठ जनाको नाम मागेका थिए। दुवै नेताहरूले नाम नदिएपछि बैठक औपचारिक रूपमा अघि बढ्न सकेको थिएन।
चार सिट माग गरिरहेको संस्थापनइतर समूह सभापतिले दुईदेखि तीन सिट दिन सकिने बताएपछि असन्तुष्ट छ। त्यसैकारण नेता कोइराला केहीबेर सानेपा छाडेर पुन: फर्केका थिए।
दुई समूहका नेताहरू आन्तरिक छलफलमा व्यस्त हुँदा कार्यसम्पादन समिति बैठक प्रभावित बनेको छ। नेता केसीले संस्थापनइतर समूहले चार सिट पाउनुपर्ने अडान राखेको बताए।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। अरू दलले उम्मेदवार तय गरिसके पनि कांग्रेस आन्तरिक छलफलमै रूमलिएको छ।
महामन्त्री शर्माले राखे विमतिका ६ बुँदा:
यसैबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सानेपामा बसेको संसदीय बोर्ड बैठकमा ६ बुँदे फरक मत राखेका छन्।
उम्मेदवार चयनका विषयमा सभापति देउवाको कार्यशैलीमा महामन्त्री शर्माको असहमति छ। टिकट वितरण संसदीय समितिले नगरेर पदाधिकारीले मात्र गरेको भन्दै उनले विरोध गरेका छन्।
राष्ट्रिय सभाको गरिमा बढाउने हेक्का कांग्रेसले नराखेकोमा पनि उनले ध्यानाकर्षण गराएका छन्।
साथै समावेशीताको सिद्धान्त विधानमा मात्र नभई व्यवहारमा लागू गरिनुपर्ने, नेतृत्वले फरक विचारलाई समेटेर जानुपर्ने, न्यायोचित प्रतिनिधित्व खोज्नुपर्ने र राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य तर योगदान र योग्यता बोकेकालाई समेट्नुपर्ने उनको भनाइ छ।
राष्ट्रिय सभा अध्यक्षमा सिटौला आकांक्षी छन्।