राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता चम्पादेवी कार्कीले उम्मेदवारी दिएकी छन्।
सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन्।
उनको प्रस्तावकमा माओवादीका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री मन्त्री गणेश उप्रेती र समर्थकमा कांग्रेस प्रदेश सांसद रामकुमार खत्री छन्।
यसअघि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।
ओखलढुंगाकी चम्पादेवी कार्की २०५४ मा जनयुद्धमा होमिएकी हुन्। लडाइँमा उनी घाइते भएकी थिइन्।
२०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएकी उनी विद्रोह गरेर माओवादी युद्धमा होमिएकी थिइन्।
अहिले ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी चम्पादेवी अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत छिन्।
सबैभन्दा तल्लो तहदेखि केन्द्रीय तहसम्म पुगेर काम गरेकी कार्की तीन पटक समानुपातिक सूचीमा (२०६४, २०७० र २०७९ मा) परे पनि सांसद बन्न पाएकी थिइनन्।
२०७४ को स्थानीय तहको चुनावमा उनी ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा उम्मेदवार बने पनि पराजित भएकी थिइन्। उनी माओवादी केन्द्रबाट कुनै लाभको पद नपाउने नेतामध्येमा पर्छिन्।