नेकपा एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभाका एक जना उम्मेदवार परिवर्तन गरेको छ।
महोत्तरीका अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
‘मतदाता नामावलीमा उहाँको नाम नदेखिएपछि विजेताजीलाई उम्मेदवार बनाउने निर्णय भएको हो,’ एमाले नेता सरोज यादवले भने।
मतदाता नामावलीमा नाम नरहेको भनी शंका लागेपछि एमाले नेताहरूसहित सिंह जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका थिए। त्यहाँ मतदाता नामावलीमा नाम नरहेकाले उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको हो।
नयाँ उम्मेदवार बनेकी झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन्।