राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ।
गण्डकीबाट एमालेले अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता-अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिएका हुन्।
पराजुलीको प्रस्तावकमा भक्त कुँवर र समर्थकमा भीम कार्की छन्। शेरचनको प्रस्तावक मञ्जुदेवी गुरूङ र समर्थक राजकुमारी भुजेल छन्। देवकोटाको प्रस्तावकमा नवराज ओझा र समर्थकमा देवका पहारी छन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एमाले गण्डकीबाटै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनको कार्यकाल फागुन २० मा सकिँदैछ। उनको स्थानमा एमालेले पराजुलीलाई उम्मेदवार बनाएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले बताए।
यसैबीच, राप्रपाले पनि गण्डकी प्रदेशमा २ जना उम्मेदवार उठाएको छ। राप्रपा नेता रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको हो। उनीहरू दुबै जनाको प्रस्तावक पञ्चराम गुरूङ र समर्थक विन्दु अधिकारी पहाडी छन्।
सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि माओवादीका मनरूपा शर्मा, कांग्रेसका किरणबाबु श्रेष्ठ र पदम परियारले उम्मेदवारी दर्ता गर्दैछन्। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ। निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश र संघीय सांसदले मतदान गर्न पाउनेछन्।