मधेस प्रदेशमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरीले राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका छन्।
जनकपुरस्थित मधेस प्रदेश निर्वाचन कार्यालयमा एकैपटक नेता/कार्यकर्तासहित पुगेका दुबै जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
ढुंगानाले पाँचौं पटक सदनमा छिर्ने आशसहित उम्मेदवारी दिएका छन्। २०४८ सालयता उनी चार पटक सांसद भइसकेका छन्। २०४८, २०५१ र ०५६ सालमा उनी धनुषाबाट प्रत्यक्षमा सांसद जितेका थिए। २०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका उनी २०७० सालमा समानुपातिकतर्फबाट सांसद चुनिए।
२०७४ सालको निर्वाचनमा धनुषा-१ बाट प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवसँग पराजित भए।
गत प्रतिनिधि सभा निर्वाचनमा समेत उनले चुनाव लड्न चाहेका थिए। तर गठबन्धनमा सिट बाँडफाँटमा माओवादीको भागमा यो सिट परेपछि ढुंगानाले समानुपातिक प्रणालीबाट सदन छिर्ने कोसिस गरे। खस आर्य क्लस्टरको तेस्रो नम्बरमा पार्टीबाट सिफारिस भएका उनी भने सांसद बन्न सकेनन्।
अन्तत: सभापति शेरबहादुर देउवानिकट रहेका ७३ वर्षीय ढुंगानालाई पार्टीले राष्ट्रिय सभा उम्मेदवार बनाएको छ।
२०२५ सालबाट औपचारिक राजनीति थालेका ढुंगाना दुई वर्षपछि नेविसंघमा आबद्ध भएका थिए। समर्थकले तत्कालीन राजा महेन्द्रको ५२ औं जन्मदिनमा जानकी मन्दिर अगाडि उत्सव मनाइरहँदा ढुंगाना सहितका नेताहरूले कालो झण्डा देखाएका थिए। त्यस कसुरमा उनीविरूद्ध राजकाज मुद्दा चलाइयो। एक वर्ष कैद बसिसकेपछि सर्वोच्च अदालतले उनलाई छोड्न आदेश दियो।
१२ वर्षसम्म जिल्ला सचिव हुँदै उनी २०४४ सालतिर कांग्रेसका जिल्ला सभापति बने। ०४६ सालको आन्दोलनमा उनी जनकपुर अञ्चलका कमाण्डर थिए। आन्दोलनको क्रममा उनी पक्राउ परे। तीन महिना जेल बसे। गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा उनी २०५५ सालमा पर्यटन आपूर्ति र वनमन्त्री भएका थिए।