राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदको निर्वाचनअन्तर्गत् निर्वाचन कार्यालयले उम्मेदवारहरूविरूद्ध परेको उजुरीका जाँचबुझ गर्दैछ।
सोमबार सात प्रदेशमा ५२ जना उम्मेदवारले विभिन्न क्लस्टरअन्तर्गत उम्मेदवारी दर्ता गरेका थिए।
त्यसमध्ये सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरूद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
भट्टविरूद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरूद्ध एमालेकै उम्मेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन्।
यी उजुरीमाथि निर्वाचन कार्यालयले बुधबार र बिहीबार जाँचबुझ गर्नेछ।
पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
कार्यालयले उम्मेदवारलाई पुस २८ गते निर्वाचन चिह्न प्रदान गर्नेछ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन्।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष कार्यकाल सकिन्छ। यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्संख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ।