काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ।
अघिल्लो कार्यपालिकाको बैठकबाट निर्णयअनुसार आज नगरसभा गरिने तय भएपनि अन्तिम समयमा बैठक स्थगित गरिएको काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष आशमान संगतले जानकारी दिए।
तर, के कारणले स्थगित भएको भन्नेबारे आफूहरूलाई पनि कुनै जानकारी नदिइएको उनले बताए।
प्रशासकीय अधिकृत बसन्त अधिकारी मुछिएको घटनालाई लिएर नगरसभामा विरोध हुने भएपछि नगरसभा नै स्थगित गरिएको महानगर स्रोतले बतायो।
यस्तै मेयर बालेनले यस नगर सभाबाट पास हुनेगरी सचिवालय कर्मचारी निलम्बन गरेका थिए। तर आजको नगरसभामा उक्त निलम्बन पास नहोला भन्ने डरले मेयर बालेनले नगरसभा नै स्थगित गरेको स्रोतले बतायो।
अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ।
पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ।
यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएपछि सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो।
तर छानबिन सकिनुअगावै अधिकारी आउने थाहा पाएपछि सचिवालयले ताला लगाएको थियो।
यस्तै, गत सोमबार नै महानगरले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो।
यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।
कर्मचारी निलम्बन गरेको कार्यपालिका सदस्यहरू महानगर नेतृत्वप्रति रुष्ट छन्। त्यसैले आजको नगरसभा बैठक स्थगित गरेको हुनसक्ने वडाध्यक्ष आशमान संगतले बताए।
सम्बन्धित समाचारः
काठमाडौं महानगरले गर्यो तीन कर्मचारीलाई निलम्बन
मेयर बालेनको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगायो ताला
काठमाडौं महानगरका प्रशासकीय अधिकृत भन्छन्- कार्यकक्षमा महत्वपूर्ण सामान भएर ताला लगाइएको हो