उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, जनताको जीवनको सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण र संवेदनशील विषय भएकोले यसको कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
रक्षा मन्त्रालयमा बुधबार भएको राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षा कार्यक्रममा उनले सरकारका सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाले पूर्ण स्वामित्व र अपनत्व लिँदै जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा उपस्थित सबै मन्त्रालय र निकायका प्रतिनिधिलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको एकीकृत कार्ययोजना-२०७७ मा आ-आफ्नो मन्त्रालय/निकायलाई जिम्मेवारी तोकिएका विषयमा हालसम्म भएका प्रगति र कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषयमा एक साताभित्र लिखित रूपमा रक्षा मन्त्रालयमा विवरण उपलब्ध गराउन उनले आग्रह गरेका छन्।
कार्यक्रममा राष्ट्रिय सुरक्षा नीति, २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ मा उल्लेख भएका मन्त्रालय तथा निकायहरूका प्रतिनिधिहरूले आ-आफ्नो मन्त्रालय तथा निकायलाई जिम्मेवारी तोकिएका विषयमा भएको प्रगति, कार्यान्वयनमा देखिएका समस्या तथा चुनौती र कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा चाल्नुपर्ने कदम तथा उपायहरू सम्बन्धमा आ-आफ्नो धारणा राखेका थिए।
समीक्षा बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा नीति राष्ट्र र जनतालाई बलियो बनाउने नीति भएकोले नेपाल सरकारका अरू नीतिहरू यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने बताए।
प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर नेपाल सरकारका सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा यो नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।