नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन्।
सिंहदरबारमा बिहीबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु एमालेले बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिए।
एमालेले असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै उनले सरकारले विधेयक प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताए।
विधेयक निर्माण गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरु मिलेर आफू अनुकुलको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको उनको भनाइ छ।
उनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको पनि बताएका थिए।
‘यी विषयहरु हामी सहमतिमै टुंग्याउन सक्छौँ। तर मान्छेहरुलाई यति के नपरोस् भने हिजो टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाजी पनि र तोकिने पुष्पकमल दाहालज्यू पनि सरकारमा हुनुहुन्छ,’ उनले भने, ‘सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनता नपरोस्। त्यसमा हामी सचेत छौँ। गहन छलफल गरेर नै टुंग्याऔँ।’
उनले विधेयक निर्माणको प्रक्रियामा अघि बढ्न सक्ने भन्दै एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै नहिँड्न पनि आग्रह गरेका थिए।
(न्युज एजेन्सी नेपाल)