नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन्।
कैलालीको टीकापुरमा बिहीबारदेखि सुरू भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा सम्बोधनका क्रममा नेपालले यस्तो कुरा बताएका हुन्।
उनले गणतन्त्र फर्किन सक्ने सम्भावना नरहेको बताए।
‘केही मान्छेले खुट्टा उचालिरहेका मात्रै हुन्, राजतन्त्र इतिहास भइसकेको छ अब त्यो फर्केर आउन सम्भव छैन,’उनले भने।
उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने कुरामा जोड गरे।
‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन, फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन,’ उनले भने।
नेपालले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए। ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन’ उनले भने।
नेपालले रेशम चौधरी टीकापुर घटनामा प्रत्यक्ष रूपमा नरहेको बताए।
‘सबै समुदायको बिचमा सम्मानको व्यवहार गर्नु पर्छ। यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्ने छ’ उनले भने।
युवाहरू विदेश पलायन हुनबाट बचाउन तीनै तहको सरकारको ध्यान दिनुपर्ने कुरामा पनि जोड दिएका थिए।
नेपालले आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडि बढेको समेत दाबी गरे।
सेती लोक मार्ग, रानिजमरा कुलरिया सिँचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरू भएको नेपालको दाबी थियो।
बिहीबार दिउँसो टीकापुरमा नेपाल र नागरिक उन्मुक्ती पार्टीका अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले सयुक्तरूपमा नागरिक उन्मुक्ती पार्टीको पहिलो महाअधिवेशनको उद्घाटन गरेका हुन्।
महाधिवेशनमा माधव नेपालबाहेक प्रमुख पार्टीका शीर्ष नेताहरू आएनन्। बिहीबावारदेखि दुईदिनसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।