संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक क्यु डोङ्ग्युले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुन सक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताएका छन्।
जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै उनले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनिकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझन र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनहरूमा वृद्धि गर्न आग्रह गरेका थिए।
नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्युले बताएका थिए।