नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन खोजिरहेको बताएका छन्।
अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको बताएका हुन्।
त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने पनि उनले बताए।
‘हाम्रो पार्टीलाई पहिले हामी रहेको पार्टीका नेताले सिध्याउन खोजिरहेका छन्,’ ओलीलाई लक्षित गर्दै उनले भने, ‘हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन्। अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ? हुन सक्दैन।’
पार्टी निकट नेपाल भूपू सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नै शक्ति बलियो बनाउनु पर्ने बताए।
‘गठबन्धनमाथि पनि भरोसा गरेर अनि उनीहरुले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन। आफ्नो शक्ति बनाउने हो। आफ्नो शक्तिको आधारमा संगठन बिस्तार गरेर चुनावमा एक्लै जित्ने आँट गरेर चल्ने हो,’ उनले भने।
भिडिओ: