सरकारले माघ तेस्रो सातादेखि हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने गरी तयारी गरेको बताएकी हुन्।
ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने गरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे शुक्रबार भएको छलफलमा बोल्दै मन्त्री शर्माले हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताइन्।
उनले आगामी संसद अधिवेशनमा पेस गर्ने गरी सरकारले चलचित्रसम्बन्धी ऐन तयारी गरिरहेको बताएकी छन्। नेपाली चलचित्रलाई राम्रो बनाएर विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने उनले बताइन्।
‘चलचित्रसम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानून मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौँ। त्यो स्वीकृति भएर आउने क्रम जारी छ। त्यो छिटै नै आउँछ र हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन सुरू हुन्छ,’ उनले भनिन्, ‘संसद अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्रसम्बन्धी विधेयक तयारी गरेर पठाउने तयारीमा छौँ।’
(न्युज एजेन्सी नेपाल)