प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार र उत्साह थपिँदै गएको बताएका छन्।
अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेको उल्लेख गर्दै यसवर्ष अभियानकै रुपमा मेला महोत्सवहरू आयोजना हुनुले अर्थतन्त्र सुधार हुँदै गएको प्रमाणित गरेको बताए।
उनले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताए।
सोमबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक संकटका कारण अघिल्लो वर्ष मेला महोत्सवहरू हुन नसकेको उल्लेख गर्दै यसवर्ष भने अभियानकै रुपमा महोत्सवहरू आयोजना हुनु अर्थतन्त्र सुधारका शुभसंकेत भएको बताए।
‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू बिरलै हुने गर्थे तर, यसवर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन्। विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन्। अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौं,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा निरन्तर प्रयास गरिरहेको दावी गरे। ‘सुशासनका क्षेत्रमा सरकारले एकवर्षको अवधीमा धेरै प्रयासहरू गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन तस्करी प्रकरण लगायतका अनियमितताको छानविन गरी कानुनी कार्वाही अगाडि बढाइएको छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले यो अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धीहरू हासिल भएको उल्लेख गर्दै विदेशमा रहेका र अनौपचारिक क्षेत्रका लागि श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको बताए।
देशका सबै सरकारी अस्पतालमा १० प्रतिशत बेड गरिब, बिपन्न र असहाय नागरिकका लागि छुट्याउनुका साथै महिला, जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका नमुना कार्यक्रमहरु पनि लागू गरिएको बताए।
उनले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति भएको र त्यसले बाह्य जगतमा नेपालको प्रतिष्ठा बढेको दावी गरे।
‘भारत भ्रमण, विश्व खाद्य सम्मेलन, चीन भ्रमण, संयुक्त राष्ट्रसंघको महासभा, विश्व जलवायु सम्मेलन (कोप–२८), संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण लगायतबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति हुनुका साथै नेपालको आर्थिक विकासमा महत्वपूणर् पहल लिइएको छ, केही दिनमा युगान्डामा हुने असंलग्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गरी मैले सम्बोधन गर्दैछु। यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रभाव थप बिस्तार हुने मैले विश्वास लिएको छु’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।