नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर निर्माणले विकासमा टेवा पुग्ने बताएका छन्।
कञ्चनपुरको ब्रह्मदेवबाट करिडोरको ट्रयाक खुलेपछि अनुगमनका क्रममा जोगबुढासम्म पुगेका लेखकले करिडोरलाई समुन्नतीको मार्गका रुपमा लिनुपर्ने बताए।
‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ,’ कांग्रेस प्रमुख सचेतकसमेत रहेका लेखकले भने, ‘यो नाका त्रिदेशीय नाकासँगै आर्थिक नाका रुपमा विकास गर्न सकिन्छ।’
पर्यटकीय विकास एवं बिस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथदेखि परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुराम धामसित जोडेर विकास गर्नुपर्ने उनले बताए।
करिडोर अनुगमन हुँदै परशुरामधाम पुगेका नेता लेखकसहितको टोलीले धाममा आयोजित मकर मेलामा समेत सहभागी भएका थिए। करिडोर अन्तर्गत रुख कटानको समस्या चार वटै जिल्लामा हल भएर निर्माण अघि बढेको छ।
ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिंकरसम्म ४१३ किमी सडक करिडोर १३ वर्षदेखि निर्माणाधीन छ।