सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाका सचेतक निशा डागी, सहमहामन्त्री सुमना श्रेष्ठ र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन्।
माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन रास्वपाले ध्यानाकर्षण गराएको हो।
‘त्यसअघि र पछि पनि नियमितजस्तो सवारी दुर्घटना भइरहेका छन्। र, हामीलाई दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको छ। यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांक छ। जसमा ९ सय १६ जनाले ज्यान गुमाए। दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए। नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन्। र, त्यसमा ६ जनाको मृत्यु हुन्छ। चौध जना गम्भीर घाइते हुन्छन्। पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भए,’ रास्वपाले तथ्यांक प्रस्तुत गर्दै भनेको छ।
प्रत्येक वर्ष औसतमा २ हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
नेपालका ६६ लाख ६६ हजार ९३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको उसले बताएको छ।
दुर्घटनाको डरलाग्दो आँकडा र भयवाह दृश्य वारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरण गर्नेतर्फ गम्भीर नबनेको रास्वपाको निष्कर्ष छ।
‘दुर्घटना न्यूनीकरणका लागि ठोस कार्ययोजना बनाउनु त कहाँ हो कहाँ दुर्घटनाले सामाजिक र आर्थिक रूपमा के कस्तो असर पुर्याइरहेको छ भन्नेबारे सामान्य अध्ययन पनि गरिएको छैन। तसर्थ, सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण व्यहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न वाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीज्यू समक्ष आग्रह गर्दछु,’ महामन्त्री मुकुल ढकालले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ।
रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले माननीय गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव के कति कार्यान्वयन भए भनेर पनि जवाफ माग गरेको छ।
उपसमितिले दिएको कानून परिमार्जनको सुझाव किन कार्यान्वयन भएन भनेर पनि प्रश्न गरेको छ।
त्यस्तै ठूला दुर्घटनापिच्छे छानबिन समिति बन्ने तर, त्यसका प्रतिवेदन कार्यान्वयनमा नल्याइने पनि बताएको छ। चालक या यान्त्रिक गडबडीलाई दोष दिएर नियामक निकाय उम्किने गलत प्रवृत्तिको निरन्तरता कहिलेसम्म कायम रहन्छ भन्दै प्रश्न उठाएको छ।
चालक अनुमति पत्र (लाइसेन्स)मा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्नेगरी नीतिगत सुधार किन गर्न सकिएको छैन भन्दै सरकारले कहिलेसम्म गर्ने योजना बनाएको छ भनेर रास्वपाले सोधेको छ।
सडक सुरक्षा परिषद् किन प्रभावकारी हुन सकिरहेको छैन भनेर पनि उसले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।
‘परिषदमार्फत् सडक पूवार्धार, सवारीसाधनको अवस्था, नियम– कानूनको पालना, उद्धार, सडक प्रयोगकर्ताको अनुशासनलगायत विषयलाई वैज्ञानिक ढंगले अध्ययन गरी कार्यान्वयन गर्न/गराउन किन विलम्ब भइरहेको छ?,’ ध्यानाकर्षण पत्रमा सोधिएको छ।
