पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको मुद्दामा तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा छुटेका छन्।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव समेत रहेका थापासहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
अख्तियारले थापासँगै तत्कालीन सदस्यसचिव प्रदिप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो। एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ बिगो मागदाबी गरी उक्त मुद्दा असोज १४ गते दर्ता भएको थियो।
मुद्दा दर्ता भएयता फरार रहेका थापा पुस २५ गते विशेष अदालतमा हाजिर भएका थिए। त्यसदिन विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले ३ लाख धरौटीमा छाडेको सूचना अधिकारी एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।
ढकाल र श्रेष्ठ भने अदालतमा हाजिर भएका छैनन्। उनीहरू फरार छन्।
पशुपतिमा जलहरी राख्दा उनीहरूले १४९१.७१८ ग्राम (एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम) सुन हिनामिना गरेको अख्तियारको दाबी थियो।