राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रमा उत्पादन भएका अन्नवाली र अर्गानिक खाद्य वस्तु सिधै तारे होटलमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन आग्रह गरेका छन्।
होटल संघ नेपालले गरेको ‘प्रथम सत्कार दिवस’ का अवसरमा बोल्दै राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रबर्द्धन गर्न आवश्यक रहेको बताए।
ग्राहकहरूको रूची र चाहना अनुसारको खाद्यान्न होटल व्यवसायीहरू आफैंले कृषि फर्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकको रूचीअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर “फार्म टु प्लेट” को अवधारणा अघि बढाउन उनले सुझाव दिए।
राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए।
‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु,’ उनले भने।
पर्यटन तथा होटलको बिस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै उनले मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको बताए।
‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रबर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारमा रुपमा स्थापित गर्नुपर्दछ। यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ,’ उनले भने।
राष्ट्रपति पौडेलले नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाई नहुने भन्दै पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढंगले बढीरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकललेन, निःशुल्क इन्टरनेत लगायतका आधारभुत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गरेका थिए।
पर्यटन उद्योगको आधारस्तम्भको रुपमा रहेको होटल क्षेत्रलाई अन्य मुलुक सरह प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ।