नेपाली कांग्रेसले जिल्ला खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सेतोपाटीलाई बताए।
‘माघ ७ गतेदेखि माघ २२ गतेसम्म समुदायमा कांग्रेस अभियान चलाउने केन्द्रीय समितिले निर्णय गरेको थियो। त्यसअनुसार जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको हो,’ उनले भने।
कांग्रेसले गत कात्तिकमै समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भने पनि त्यसबेला स्थगित गरिएको थियो। पुस १५ मा बसेको केन्द्रीय समिति बैठकले समुदायमा कांग्रेस अभियान माघ ७ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।
जिल्ला खटिने नेताहरूलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने कार्यतालिका छ।
संगठन सुदृढीकरण र कार्यकर्ता तथा नागरिकका गुनासा र सुझाव लिन कांग्रेसले जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर अभियान चलाउन लागेको हो।