उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
ललितपुर जिल्ला खेलकुद विकास समितिले लगनखेलमा गरेको १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका अवसरमा बुधबार उपप्रधानमन्त्री खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
खेलकुद क्षेत्रको विकास गर्न तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने उनले बताए।
‘अहिले पर्याप्त बजेट नहुँदा खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन, त्यसैका कारण खेलाडीले पनि क्षमता अनुसारको प्रभाव गर्न सक्नुभएको छैन तर अब तीन वटै तहका सरकार एक भएर काम गरे खेल क्षेत्रको विकास हुन्छ,’ उनले भने।
खेल क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने उनले बताए।