संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन प्रबर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको बताएका छन्।
मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले नेपालमा पर्यटन प्रबर्द्धन गर्न ६० वटाभन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको बताए।
पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने उनको भनाइ छ।
‘हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ। पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएका छौं,’ उनले भने।
सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको मस्यौदा नै तयार पारिसकेको उनले बताए।
आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने उनको भनाइ छ।
पर्यटन ऐन, संस्कृति ऐन लगातयका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको मन्त्री किरातीले जानकारी दिए।
(न्युज एजेन्सी नेपाल)