नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दुरसञ्चार प्राधिकरणको अध्यक्षलाई राजीनामा दिन लगाइएको भन्दै शंका व्यक्त गरेकी छिन्।
बिहीबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले एनसेलको सेयर खरिद बिक्री,टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको प्रविधि खरिद लगायतमा विवाद देखिएपछि दुरसञ्चार प्राधिकरणको अध्यक्षलाई राजीनामा गर्न लगाइएको हुन सक्ने बताएकी हुन्।
‘सबै कुरा खुल्न सक्छ, लुकाउनुपर्छ भनेर दुरसञ्चार प्राधिकरणको अध्यक्षलाई राजीनामा दिन लगाइएको हुन सक्छ, यस विषयमा अध्ययन गर्नु पर्छ,' घर्तीमगरले भनिन्।
पुस २४ गते अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए। अध्यक्ष खनाल २०७६ साउनबाट प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए।
त्यस्तै समिति सदस्य विद्या भट्टराइले सञ्चार मन्त्रालयले दुरसञ्चार प्राधिकरणलाई देखाएर आफू पन्छिएको बताइन्। उनले यी गतिविधिमा मन्त्रालयको भूमिका पनि रहेको बताइन।
नीति निर्माण गर्नु पहिले टेरामक्स जस्ता प्रविधि ल्याउन खोज्नुले अनियमितताको शंका गर्ने सकिने अवस्था रहेको उनको भनाई छ।