कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गरेका छन्।
उनले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति र सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक, नर्स, प्रयोगशालाविद् लगायतका स्वास्थ्यकर्मी उत्पादनमा जोड दिएका छन्।
उनले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा अत्यधिक महँगो भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै सरकारी र सामुदायिक स्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्राथमिक दायित्व भएको बताए।
स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न सरकारले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उनले बताए। कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ तथा डेङ्गी संक्रमणको समयमा स्पष्ट भइसकेको बताए।
उनले चिकित्सा जनशक्तिलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउन पाठ्यक्रम अनुसारको शैक्षिक कार्यक्रम, समयानुकूल दक्ष जनशक्तिको विकास, सुदृढीकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राखी थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै अघि बढ्न आग्रह गरेका थिए।
संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिएका शिक्षकवर्ग, सकलदर्जालगायत कर्मचारीहरुको समर्पण र सामूहिक प्रयासले नै संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उनले बताए।