कोशीको सभामुखबाट राष्ट्रिय प्रजातन्त्र पार्टी फिर्ता हुनुपर्ने निर्देशन अलपत्र परेको छ।
कोशीमा राप्रपा सांसद अम्बरबहादुर विष्ट गत पुस २४ गते सभामुख बनेका थिए।
सोही दिन राप्रपा केन्द्रीय निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीले बैठक गरी सभामुखबाट उम्मेदवारी फिर्ता लिनुपर्ने निर्देशन दिए पनि अहिलेसम्म त्यो निर्देशन अलपत्र छ।
सभामुख चयन भएपछि विष्टले राप्रपाबाट अलगिएको घोषणा गरिसकेका छन्।
लोहनीले विधानविपरीत निर्देशन दिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देन असन्तुष्ट छन्।
कोशीको सभामुखबाट फिर्ता हुनुपर्ने निर्देशनबारे लोहनीले कार्यसम्पादन र केन्द्रीय समितिमा छलफलको माग गरे पनि अहिले बैठक बोलाइएको छैन।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले आवश्यकता परेका बेला पार्टीले बैठक गर्ने बताउँदै अहिले बैठक आवश्यक नरहेको प्रतिक्रिया दिए।
निर्देशन समितिले पार्टीमा सुझाव दिन सक्ने तर निर्देशन दिन नसक्ने श्रेष्ठ बताउँछन्। महाधिवेशनबाट चुनिएको केन्द्रीय समिति र अध्यक्षभन्दा निर्देशन समिति माथि नहुने उनले बताए।
अध्यक्ष लिङ्देनले नै पार्टी विधानअनुसार लोहनीलाई निर्देशन समिति अध्यक्ष मनोनीत गरेका थिए। यो समितिमा पार्टी पदाधिकारी मध्येबाट सदस्य रहने व्यवस्था छ।
लोहनीले पार्टीभित्र गुट बनाउने र अलगै शक्तिको अभ्यास गर्ने उद्देश्यसहित कोशी सभामुखबाट फिर्ता हुनुपर्ने निर्देशन जारी गरेकोले अध्यक्ष लिङ्देन रूष्ट रहेको राप्रपाका एक पदाधिकारी बताउँछन्।
‘अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्देशन समिति अध्यक्ष लोहनीले दिएको निर्देशन स्वीकार्य हुन्न भनेर अध्यक्ष लिङ्देनले भन्नु भएको छ,' लिङ्देननिकट ती पदाधिकारीले भने, 'सुझाव दिन बनाइएको समितिले महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई निर्देशन दिन सक्दैन।'
नाम निर्देशन समिति राखे पनि त्यो समितिको काम सुझाव मात्र दिनु रहेको राप्रपा नेताहरू बताउँछन्।
अध्यक्ष लिङ्देनले नै नचाहेपछि कोशीबाट सभामुख फिर्ता हुनुपर्ने लोहनीको निर्देशन अलपत्र परेको हो।
लिङ्देनले हालै योहो टेलिभिजनको 'सत्य संवाद'मा पनि अन्तर्वार्ता दिँदै लोहनीले जारी गरेको निर्देशन पार्टीले मान्न नसक्ने बताएका थिए।
‘जुन ढंगले पार्टीमा अलग शक्ति केन्द्र बनाउने हिसावले निर्देशन दिने कुरा भएको छ, त्यो राप्रपामा स्वीकार्य हुँदैन,' लिङ्देनले भनेका छन्, 'त्यो निर्देशन अधिकार क्षेत्रभन्दा बाहिर गएर दिइएको छ। अध्यक्ष स्वदेश फर्कनुअघि दिइएको छ।’
कोशीमा सभामुख चयन भइरहँदा लिङ्देन मलेसियाबाट स्वदेश फर्कंदै थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेको अवस्थामा लोहनीले कोशी सभामुखबाट उम्मेदवारी फिर्ता लिनुपर्ने निर्देशन कोशी समितिमा पठाएका थिए।
लोहनीले पठाएको निर्देशनलाई अध्यक्ष लिङ्देनले अनधिकृत भनेका छन्।
'अध्यक्ष स्वदेश फर्कने दिन कू गरे जसरी निर्देशन दिइयो, त्यो हावादारी निर्देशन स्वीकार्य छैन,' उनले भने, ‘राप्रपामा विगतदेखि हुर्केको विकृतिको यो सानो अंश हो, साथीहरूलाई सच्चिन आग्रह गर्दछु।'
यो पनि- राप्रपाभित्र 'कडा र नरम राजावादी' बीच बढ्दो टकराब!