प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन्।
संसदीय समितिका सभापतिहरुसँग आइतबार छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले क्यालेण्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यवहारिक हुन नसकेको बताए।
अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभपतिहरुसँग छलफल भएको उनले बताए। हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको उनको भनाइ छ।
‘क्यालेण्डर बनाएर अघि जाने, संसदीय क्यालेण्डरअनुसार चल्ने कोसिस भए पनि त्यो व्यवहारिक भएको छैन,’ उनले भने, ‘अबको संसदलाई अलि प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर फिक्स गर्ने, क्यालेण्डर भित्र चल्न सबैले वातावरण बनाएर जानुपर्छ र क्यालेण्डर कसरी बनाउने भन्ने सन्दर्भमा एउटा १५ दिन, अर्को महिना दिन, अर्को सिंगो सत्र भरको क्यालेण्डर बनाऔँ, कहिलेसम्म सत्र सञ्चालन गर्ने भन्ने बारेमा पनि एउटा समझदारीपूर्ण ढंगले, योजनावद्ध ढंगले बनाऔँ भन्नेकुरामा छलफल भएको छ।’
सभमुख घिमिरेले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताए।
(न्युज एजेन्सी नेपाल)