मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूले राजीनामा नदिइ लाज पचाएर सत्तामा बसिरहेको बताएका छन्।
सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले कार्यकर्ताहरूले प्रदेश सरकारविरूद्ध नाराबाजी गरिरहेको बेला सत्ताबाट राजीनामा नदिइ लाज पचाएर बसिरहेको बताएका हुन्।
'राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरूद्ध गठबन्धनका घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ,' उनले भने, 'गठबन्धनको निर्णय अस्वीकार गर्दै उम्मेदवारी दिएपछि असन्तुष्ट दलहरूले अध्यक्ष चन्द्रकान्त राउतलाई गठबन्धन बैठकमा बोलाउन छाडेका छन्।'
यस्तै, जनमत पार्टीलाई संघ सरकारबाट हटाए तत्काल जनमत पार्टीका प्रदेश मन्त्रीहरूलाई पनि हटाइदिने मुख्यमन्त्री यादवले बताए।
मन्त्रीहरूले मधेस विश्वविद्यालयका रजिष्ट्रार र भिसीलाई थर्काएर ताल्चा लगाएकोमा मुख्यमन्त्री यादवले असन्तुष्ट समेत प्रकट गरेका छन्।
'यो कुन तरिकको गठबन्धनको हो?,' उनले प्रश्न गरे।
मधेस प्रदेश सरकारमा जनमत पार्टीमा शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन्।
(न्युज एजेन्सी नेपाल)