पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पुनः रेखांकन गर्न नेकपा (एमाले) ले माग गरेको छ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ७५१ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै मध्यपहाडी लोकमार्ग पुनः रेखाङ्कनको माग गरेको हो।
लोकमार्गको इञ्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा थुप्रै सुधार गर्नु पर्ने देखिएको एमालेले औंल्याएको छ।
‘कतिपय स्थानमा पहिल्यै बनेको स्थानीय सडकमा यसलाई जोडिएको, कतिपय ठाउँमा बस्ती नै नभएका निर्जन स्थानमा बाटो खनिएको र कतिपय ठाउँमा राजनीतिक दबाब र प्रभावका कारण यसलाई अनावश्यक घुमाउरो बनाइएको छ,’ एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसको एक हजार ८७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गका दृष्टिले उपयुक्त नरहेको निष्कर्षमा साथ यसको ‘टेक्निकल अडिट’ गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन (रिअलाइनमेन्ट) गर्न, आवश्यक स्थानमा सुरूङ र भायाडक्ट (अग्ला पुल) को प्रयोग गरी यसको समय र दूरी छोट्याउनुपर्ने देखिन्छ।
एमालेले ट्र्याक खोल्न बाँकी ठाउँमा तत्काल बाटो खोल्न पनि ध्यानाकर्षण गराएको छ।
मध्यपहाडी लोकमार्गको जाजरकोटको मटेलामा तत्काल बेलिब्रिज राख्न पनि माग गरेको छ।
ठेक्का लगाउन बाँकी ठाउँमा तत्काल ठेक्का लगाउन एवं काम अलपत्र पार्ने ठेकेदारहरूमाथि आवश्यक कारबाही अगाडि बढाउन पनि माग गरेको छ।
‘मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न भू-भागमा आधुनिक सहरहरूको विकास गरेर पहाडको बसाइसराइ रोक्ने उद्देश्यले सुरू गरिएको परियोजनाको प्रगति निराशाजनक रहेको छ। यस सम्बन्धमा ठोस काम अगाडि बढाउन ध्यानाकर्षण गरिएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
सरकारी निकायबीच समन्वयको अभावले राजमार्गलगायत पूर्वाधार निर्माणको काम बेस्सरी प्रभावित भएको एमालेको निष्कर्ष छ।
बूढीगण्डकी जलाशययुक्त परियोजनाको कारण देखाई गोरखा–धादिङ आरूघाट खण्डमा सडक नबनाइएको एमालेले उल्लेख गरेको छ।
सुनकोशी परियोजनाले डुबानमा पार्छ भन्ने बहानामा रामेछापमा सडक अत्यधिक घुमाउरो र दिग्दारलाग्दो बनाइएको पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।
बेतान–कर्णाली प्रस्तावित जलविद्युत परियोजनाले जंगलघाटमा पुल बनाउन स्वीकृति नदिएका कारण कर्णाली चिसापानीबाट १२५ किलोमिटर दूरी पार गरेर पुगिने मङ्गलसेन पुग्न झण्डै ४ सय किलोमिटर घुमाउरो बाटो तय गर्नुपर्ने बाध्यता रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
सुनकोशी–मरिन परियोजनामा प्रयोग भएको टिबिएम सिन्धुली खुर्कोट–चियाबारी सुरूङ निर्माणमा प्रयोग गर्न सक्दा ६.८ किलोमिटर सुरूङमार्फत् ४७ मिनेटको यात्रा ८ मिनेटमा पूरा गर्न सकिने सम्भावना पनि एमालेले देखाएको छ।
कान्तिपथलाई अलिकति सुधार गर्ने हो भने प्रदेश राजधानी र काठमाडौं बिचको दूरी २ घण्टा भन्दा कम हुने एमालेले बताएको छ।
एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा गरेको थियो। करिबब दुई हजा किलोमिटर लामो संकल्प यात्राका क्रममा देखिएका समस्या केन्द्रीकृत गरेर एमालेले ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्रमा ४६ क्षेत्रका ७५१ बुँदे माग प्रस्तुत गरिएको छ।