नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताले सहकारीमा जम्मा गरेको पैसा हिनामिना गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका छन्।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जनताले दिनहुँ थोरै थोरै रकम सहकारीमा जम्मा गरिरहेका हुन्छन्। सोझा र न्यून आय भएका जनताको त्यही रकम हिनामिना गर्नेलाई उन्मुक्ति दिनु हुँदैन।’
उनले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए।
१५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने उनले बताए।
'सरकारले बनाएको काशीराज दाहाल नेतृत्वको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा गरेको बिफ्रिङमा १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको देखाएको छ,' उनले भने, ‘१५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि ३१ हजार बढी सहकारी संघ संस्थामध्ये करिब ५ सय सहकारी समस्यामा छन्।'
जनताको रकम अपचलन गर्ने छुट कसैलाई नभएको उनले बताए। सहकारी क्षेत्रको नियमनका लागि नेपाल राष्ट्र बैंक पनि सक्रिय हुनुपर्ने उनले बताए।सहकारीसम्बन्धी ऐनमा भएका राम्रा व्यवस्थाको उचित कार्यान्वयन गर्दै दोषीलाई कानुनी कारबाही गर्न उनले सरकारसँग माग गरेका छन्।
सहकारी ऐनमा भएको बचत तथा ऋण सुरक्षण कोष स्थापना, स्थिरीकरण कोष स्थापना, कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्नेजस्ता व्यवस्थालाई सरकारी जानाजान कार्यान्वयन नगरेको उनले बताए।
'ऐनको दफा १०१ मा कर्जा सुरक्षण कोषको व्यवस्था गरिएको छ। यो कोषले बचतकर्ताको निश्चित रकमको बिमा गर्छ। ऐनमा भएको यस्तो व्यवस्था अहिलेसम्म कार्यान्वयन भएको छैन,' उनले भने।