निर्वाचन आचारसंहिता लत्याएर सत्ता गठबन्धन र एमाले-राप्रपा प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार र भेला गरेपछि निर्वाचन आयोगले मोरङका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई २४ घण्टाभित्र राजनीतिक दलले गरेको भेलाबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बताए।
आयोगले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र नहुन्जेलसम्मका लागि आचारसंहिता लागु गरेको छ। बिहीबार राष्ट्रिय सभा चुनाव हुँदैछ।
सत्ता गठबन्धनले विराटनगरस्थित नेपाली कांग्रेसका नेता शेखर कोइराला निवासमा बुधबार चियापान आयोजना गरेका थिए। जहाँ राष्ट्रिय सभाका उम्मेदवार कृष्ण सिटौलासहित उम्मेदवार र मतदाता भेला भएका थिए।
एमाले र राप्रपाले पनि विराटनगरस्थित होटल ह्यारिसनमा चुनाव लक्षित भेला गरेका थिए।
‘विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ।’
यो पनि: निर्वाचन आचारसंहिता लत्याउँदै कोशीमा सत्ता र प्रतिपक्षी गठबन्धनले गरे चियापान