मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा एक जना प्रदेश सभा सदस्य बाहेक सबै जनाले मतदान गरेका छन्।
बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रदेश सभा सदस्य अभिराम शर्माले मतदान नगरेका हुन्।
उनी सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा फरार व्यक्ति हुन्। जिल्ला अदालत महोत्तरीले उनलाई दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो। जसकारण उनी मतदान गर्न उपस्थित नभएको देखिएको छ।
मधेश प्रदेशमा दुई जना सदस्यका लागि भएको निर्वाचनमा २६७ जना पालिका प्रमुख र उपप्रमुख र १०६ जना प्रदेशसभा सदस्यले मतदान गरेको सहायक प्रदेश निर्वाचन अधिकारी नविन चौधरीले बताए।
उनका अनुसार मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ।
बैठकपछि मतगणना सुरू हुने चौधरीले बताए।
मधेश प्रदेशमा १०७ जना प्रदेश सभा सदस्य र २६७ जना पालिका प्रमुख-उपप्रमुख गरी ३७४ जना मतदाता छन्।