सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन्।
बिहीबार अपराह्न सकिएको मतगणनामा शर्मा ३६६० मतभारसहित निर्वाचित भएकी हुन्।
शर्मालाई स्थानीय तहका प्रमुख तथा उपप्रमुखबाट ९५ र ३५ जना प्रदेश सभा सांसदले मतदान गरेका थिए। यद्यपि औपचारिक घोषणा हुन बाँकी छ।
यहाँ नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले २५५३ मतभार ल्याएर पराजित भइन् भने राप्रपाकी गौ माया श्रेष्ठले १०६ मतभार पाइन्। एक प्रदेश सभा सदस्य र एक स्थानीय तहका जनप्रतिनिधिको गरी कूल ७२ मतभार बदर भएको थियो।
देवकोटालाई स्थानीय तहका ७३ जना प्रमुख तथा उपप्रमुख र २२ जना प्रदेश सांसदले मत दिएका थिए।
गण्डकीमा सत्ता गठबन्धनबाट १०१ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्। जसमा ५ जनाले विपक्षी एमालेमा मतदान गरेको मत परिणाममा देखिन्छ।
पर्वतकी मनरूपा शर्मा २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएर लागेकी थिइन्।
माओवादी भ्रातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मा आवद्ध भएर लागेकी शर्मा त्यसयता निरन्तर माओवादी राजनीतिमा छिन्।
पर्वतको कुश्मा–१० पीपलटारीकी शर्मा भूमिगत अवस्थामै महिला संगठनमा रहेर काम गरेकी थिइन्। उनले कास्की, गुल्मी, स्याङ्जा आदि जिल्लामा काम गरेकी छन्। महिला संगठनमा आबद्ध भएर जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै अहिले उनी पार्टीको पर्वत जिल्ला संयोजक छिन्।
उनले यसअघि संसदीय निर्वाचनमा टिकट पाए पनि जित्न भने सकेकी थिइनन्। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पर्वत– १ बाट चुनाव लडेकी शर्मा कांग्रेसका अर्जुन जोशीसँग पराजित हुन पुगेकी थिइन्।
त्यसपछि २०७० को दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी शर्मा निर्वाचित हुन सकिनन्। फेरि २०७४ को निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनिन्। त्यतिबेला पनि संसद प्रवेश गर्ने उनको चाहना पूरा भएन।
माओवादीले निरन्तर प्रत्यक्ष वा समानुपातिक उम्मेदवार बनाएको शर्मालाई २०७९ सालको प्रतिनिधी सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनाएको थियो। त्यसपटक पनि संसद छिर्न नपाएकी उनको यसपटक भने सपना पूरा हुने भएको छ।
उनी राष्ट्रिय सभा सदस्यका लागि महिलातर्फ उम्मेदवार बनेकी छिन्।
‘निरन्तर पार्टीमा काम गरेपछि एकदिन अवसर आउँछ, हरेस खान हुँदैन,’ उनले भनिन्, ‘पार्टीले मेरो योगदान र सहिद परिवार भनेर मलाई उम्मेदवार उठायो।’
उनका श्रीमान सशस्त्र संघर्षमा मारिएका थिए।
‘स्याङ्जाको सिसिकोटमा २०६१ मसिर १७ गते खाना खान लागेका बेला मेरो श्रीमानलाई सेनाले पक्राउ गरी लछारपछार गरेर हत्या गर्यो,’ उनले भनिन्, ‘त्यो हत्याकाण्डमा कृष्ण गौतम, कुविजा पराजुली, मोहन गाहा मगर, खर्क कुँवरलाई पनि हत्या गरेको थियो।’
उनका श्रीमान पार्टी राजनीतिका साथै सांस्कृतिक फाँटमा पनि काम गरेको उनले बताइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि निरन्तर पार्टी काममै लागेकी शर्मा सहिद प्रतिष्ठान नेपालका अध्यक्ष, जनक्रान्तिका महान सहिद समाजका अध्यक्ष छिन्। यसलगायत विभिन्न संघ–संस्थामा पनि आवद्ध छिन्।